धौलागिरि

 

बिहान उठेर यस्सो उत्तरतिर फर्किदा माछापुच्छ्रे र अन्नपूर्ण लस्करै हाँसे जस्तो लाग्छ ।त्यसैले त मलाई हिमाल नेपालको पर्यायवाची शब्द हो जस्तो लाग्छ भने माछापुच्छ्रे हिमालको पर्यायवाची । त्यै माछापुच्छ्रेको बारेमा माछापुच्छ्रे कविता पनि लेखे ।त्यसैले हिमाल चुच्चै हुन्छन् भन्ने पनि पर्‍यो ।घरबाट नदेखिने तर स्कुल जाँदा दुलेगौँडा जाँदा पुल्चोकबाट १९३ सिँढी उक्लिएपछि आंशिक र २०७ सिँढि उक्लिएपछि पुरै  पर पश्चिममा देखिने मान्छेको टाउको जस्तो हिमाल थियो धौलागिरि यो हिमाल हाम्रोमा देखिने अरु हिमालको भन्दा आकार फरक त देखियो पछि पढ्दा थाह भयो यो त यस क्षेत्रकै अग्लो पनि रहेछ । मलाई धौलागिरि जस्तै हेर्दा नदेखिने तर वास्तवमा अरु भन्दा अग्लो हुनु जीवनको प्रगति हो जस्तो लाग्यो ।   

एस एल सी पछि पोखरा जानु, पि एन क्याम्पस पढ्नु, जागिर खानु आफ्नो खर्च आफै धान्नु मनको अन्तस्करणमा कोरिएका सरल बाटाहरू थिए । त्यो बाटोको मुख्य पथप्रदर्शक र उत्प्रेरक काकाकाकी नै हुनुहुन्थ्यो। जे होस् पोखरा गए, जागिर खोजे, मैले जागिर पाइन।  जागिरले मलाई पाएन । जागिर नै नपाएपनि सास धान्ने उपाय खोज्नै पर्‍यो। पाएँ । भन्छन् नि जहाँ इच्छा त्यहाँ उपाय। हामी बाहुन, ठूला जातका सानो काम गर्न नहुने समाजले सिकाएको बाटो । म कर्मशील, सर्वहारा, विद्यार्थी मैले जे जस्तो भए पनि काम गर्नुपर्छ सके घर खर्चै पठाउनु पर्छ, नत्र पढ्नको लागि खर्च भने नि जुटाउनु पर्छ, जुनसुकै हालतमा, समय, परिस्थिति र अन्तरआत्माले देखेको बाटो । मानसपटलमा घुमिरहेका यै द्वैध विचारहरूले पनि कहिले वल्लो किनार कहिले पल्लो किनार पुर्‍याइरहेका थिए। आफ्नो हातमा  जागिरको लागि प्रमुख हतियार दोस्रो श्रेणीको एसएलसीको मार्कसिट बाहेक अरु के नै थियो र घाँस काट्ने गोबर फाल्ने खेतबारी खनजोत गर्ने बाहेक अनुभव थिएन, एउटा निर्वाहमुखी कृषकको छोराले अरु के जान्दो थ्यो  र कम्प्युटर र मोटरसाइकलको लाइसन खोज्ने ! कम्प्युटर चित्रमा देखेको, मोटरसाइकल बाटोमा , अनि कसले दिने जागिर ? आदर्श समाज, जनमत, पोखरापत्र जस्ता उस बेलाका पत्रिकाहरूमा आवश्यकताको विज्ञापन हेर्दाहेर्दै कुनबेला  तिनैको बिक्री गर्ने हकर बनेछु पत्तै भएन। मेरो पत्रिका बेच्ने स्थल थियो बगर, टुँडिखेल, हरिचोक । यहाँबाट जाने गाडी पर्वत बाग्लुङ म्याग्दीसम्म जान्छन् भन्ने थाह नपाउने कुरै भएन ।

क्यार्नु भैच ? फलानाले यस्तो भनिचन् र ? पत्रिकामा के खबर छापिच्न्? जस्ता बोल्ने शैली र भाषिका मेरा लागि नयाँ सँगै रमाइलो लाग्ने कुरा थिए ।

क्याम्पसमा धौलागिरि तिरका साथीहरु भएपनि उनीहरुसंग मेरो उतिसारो हिमचिम थिएन । उसो त क्याम्पस पनि कति नै गए होला र ! बिहान आदर्श समाज, जनमत, समाधान बेलुका कमाण्डर जो बेच्नु थियो । द्वन्द्वकालको समय, अभावको जिन्दगी, सपनाहरु नै रङ्गीन देख्ने उमेर,  केही गर्नुपर्छ भन्ने हुटहुटी सबै चिजको गज्जबको कक्टेल लाइफ जो थियो । पत्रिका बेच्दाबेच्दै बन्दुक समाउन मन लाग्थ्यो, फेरि भोलि बिहानै पत्रिका नै ठिक पनि लाग्थ्यो ।अभावको जिन्दगी सम्झेर भागेर जाउँ जस्तो लाग्थ्यो । तर भागेर पो कहाँ जाने 

त्यस बखत टिभीमा आउने एउटा सिरियलको गीत "जाउँ कहाँ जाने कुनै ठाउँ छैन नजाउँ त यो ठाउँमा बस्ने मन छैन" भने झै !

जीवनको बाटो सरल र सम्म परेको  कहाँ र कहिले पो हुन्थ्यो र ! दुलेगौँडाबाट पूर्वमा दमौली र पश्चिममा त्यै हरिचोक भन्दा पर नदेखेको म एकैपटक यात्री बन्ने भए मुस्ताङ लेते सम्मको त्यो पनि भेटेरिनरी  डाक्टर भन्ने भनेर । २ वर्ष हरिचोकमा वल्याङफल्याङ गर्दागर्दै जुन गाडीमा पत्रिका बेच्न चढ्थे उही गाडीमा यात्रु बनेर चढे २०६०साउन २४ मा सहयात्री दिपकराज बराल सहित ।

लेते जानुको पनि कथा छ । दमौली पुगेर फर्म ल्याउनु, भरेर इन्ट्रान्स दिनु,  पोखराबाट ४ जनाको नाम निस्कनु २ जना सम्पर्कमा नआउनु, जानेबेलामा २ जना मात्रै हुनु ।  टि एस एलसी बराबरको तालिम गर्न जानु, डाक्टरै बनिन्छ भन्ने भावना मनमा आउनु । छोटकरीमा यत्ति नै हो ।

बेनी सम्मको बस, तिप्ल्याङको बास, भेटेका मान्छेको नबुझिएको बोली, ठाउँको नाम नजान्दाको हैरानी । केही रुपैया, केही लुगाफाटा झोलामा, अलि बढि सपना आँखामा, अनि केही उत्कण्ठा र आशा मनमा बोकेर दोस्रो दिन बेलुका पुगियो धौलागिरि प्राविधिक शिक्षालय लेते मुस्ताङ

जिन्दगीमा मान्छेका केही सपना पुरा हुन्छन् केही अधुरा केही कहिल्यै पुरा नहुने पनि सपना होलान् कहिलेकाहीँ त केही सपनाहरु यति महङ्गा हुन्छन् नि, तिनको मोल सम्झेर निदाउनै सकिदैन । आशाको ठूलो झोली बोकेर मुस्ताङ लेते पुगेको बेला मनमा उर्लेका तरंगहरुबाट बिजुली निकालेर जिन्दगीको अँध्यारो पन्छाउने सुरुवात गरेको स्थान धौलागिरि प्राविधिक शिक्षालय ।त्यसैले होला मलाई धौलागिरि शब्द नै प्यारो लाग्छ ।अझ रमाइलो त मैले जागिरको सुरुवात गरेको स्थानको नाम पनि राज्य पुनर्संरचना पश्चात धौलागिरि गाउँपालिका बनेकोमा । 

 

 

Comments

Popular posts from this blog

जागिरको सोह्र वर्ष, शहिद लखनको हप्ता

ऐंठे सिक्री !!