जागिरको सोह्र वर्ष, शहिद लखनको हप्ता


कोरोनाकालदेखि नै पूर्णरुपमा घरपायक जागिरमा रमाइरहेको मेरो जागिरे दिनचर्यामा एकाएक घर छाड्नुपर्ने बाध्यता आइपर्छ । सोह्रौ वर्षमा प्रवेश गदैगर्दा मष्तिष्कमा सबैभन्दा खेलेको नाम थियो, "शहिद लखन" ।

नेपालका पहिलो शहिद भनेर किताबमा पढेको लखन थापा जसलाई राणाशासन र जङ्गबहादुरको विरोध गर्दा अत्यन्तै क्रुर र पाशविक हत्या गरेका थिए तत्कालिन शासकहरूले । 

हुन त पहिले श्रोतको अभाव पछि सोँचको अभाव ‍को कारणले केही मिथकहरू बाहेक भरपर्दो तथ्य त  लखन थापाको बारेमा सुनेको थिइन तर जङ्ग बहादुर राणाको विरोध मनकामना मन्दिरको स्थापना  मनकामना माताबाट शक्ति आर्जन गरेको र  आफूले राणा शासन ढाल्न सक्ने घोषणा गरी  मनकामना मन्दिरको आडैमा म मरेको एक महिनाभित्र जंगबहादुर पनि मर्छ भन्दै झुण्डिएर मरेको भन्ने कथा सुनिरहेको मलाई आफैँ झुण्डिएर मर्ने कायरलाई किन शहिदको उपमा दिइरहेका छन् वर्तमान शासकहरू भन्ने चाहिँ मनमा खेलिरहन्थ्यो ।तर मनकामना मन्दिर स्थापना गर्ने सिद्धपुरुष लखन थापा र शहिद लखन थापा एकै होइनछन् र शहिद लखन थापाले तत्कालिन जहाँनिया शासन विरुद्ध लड्नकै लागि सेना गठन गरेर तयार हुँदा मारिएका रहेछन् भन्ने कुरा त्यहिँ पुगेपछि बल्ल थाहा पाएँ ।

जे होस् प्रदेश लोकसेवा आयोगमा बढुवाको फर्म भरिसकेपछि खुलेको सिट को बारेमा जानकारी लिदा शहिद लखन पनि रहेको थाहा पाएपनि अनेक झमेला र अनिश्चितताका बिच एकासीको बैशाख २३मा  गोरखापत्रले मेरो पनि नाम निकालेपछि मात्रै मेरो दिमागमा शहिद लखन घुम्न थालेको थियो । त्यसपछि गुगल म्याप र वेभसाइटमा खोज्न त महाशिला र सुन्दरबजार पनि नखोजेको हैन तर पहिल्यै बसेको भूगोलको कारण परिचित रघुगंगा र अरुको अपायक पर्ने र मेरो घरबाट अलि नजिक पर्ने शहिद लखन अलि चासो रहेका ठाउँ थिए । यसैपनि वरियताक्रममा सबैभन्दा कान्छो परेकाले सबैले छाडेको स्थानमा जानुपर्ने बाध्यता पनि सङ्सङ्गै थियो । 

बढ्दो उमेर र घर नजिकको कार्यालय आफ्नै नगरपालिका आदि कारणले पनि हुनसक्छ आफ्नो कार्यसम्पादन आफैँलाई चित्त बुझिरहेको थिएन ।यस्तोबेलामा नयाँ ठाउँमा पुगेर नयाँ परिवेशमा भिज्नको लागि चुनौती सहित तुलनात्मक रुपमा सानो ठाउँ र दुर्गममा केही नयाँ काम गरेर देखाउने अवसर साथमा थियो । मुख्यमन्त्री कार्यालयमा सिफारिसपत्र बुझिसकेपछि मात्रै आधिकारिक रुपमा म शहिद लखन जाने भएँ । 

फेसबुकमा लेखेँ, वेभसाइटमा देखेँ, पशुसेवा शाखामा पूर्व परिचित मित्र हुनुहुन्थ्यो तारामणि फोन गर्नुभयो । आउने दिन सोध्नुभयो । अब नियुक्ति, बरबुझारथ, रमाना  जस्ता अनिवार्य कानूनी प्रक्रिया र झोलीतुम्बा कसेर हिड्ने दिनको तयारी बाँकी थियो । 

पहिले नियुक्तिपत्र लिने रमाना पछि हुने उद्देश्यले मोटरसाइकलमा शहिद लखन जाने तयारी गरेँ । उहाँका प्रमुख प्रशासकीय अधिकृत बाबुराम सरलाई फोन गरेँ म भोली आउन लागेको सर 

सरले सहजताका साथ भोलि हैन पर्सी आउनु सर कार्यपालिका बैठक छ तपाईंको नियुक्ति त्यतिबेला नै गरौला सबैजनासँग परिचय पनि हुन्छ भन्नुभएपछि मेरो यात्रा पर्सीका लागि सर्यो । यता सो समयमा धेरैजसो कामहरू टुङ्गिने क्रममा थिए नटुङ्गिएका काम टुङ्ग्याउने असल र जुझारु टीम तत्पर थियो । एकजोर कपडा झोलामा प्याक गरेर म हिडे शहिद लखन ।

सहायक स्तरको जागिर गण्डकी प्रदेशको सुदुर पश्चिमबाट शुरु गरेको अफिसर स्तरको चाहिँ सुदुर पूर्वबाट भयो अब उता जस्तै मज्जैले यतै बसिन्छ होला सात वर्ष । यस्तै सोच्दै सोच्दै म आँबुखैरेनीबाट पृथ्वी राजमार्ग छाडेर लागेँ गोरखातिर । मनकामना शहिद लखन गाउँपालिकामा पर्ने त्यहाँबाट उत्तरपूर्वमा घैरुङमा पालिका कार्यालय रहेको त्यहाँ आउने छोटो बाटो गुगलले देखाएको भन्दा बाबुराम सरले देखाएको बाटो सजिलो थियो।जतिसुकै आधुनिक प्रविधि आएपनि व्यवहारिक जीवनमा त्यो मानव भन्दा कमजोर नै हुने रहेछ ।

पहिलोपटक म्याग्दी सदरमुकामबाट सेवाकेन्द्र जानुपर्दा एकदिनको बाटो हिडेर जानुपर्थ्यो अहिले त त्यहाँ पनि गाडी पुगेको छ ।पैदलयात्री हुँदा एक्लै परिन्थेन । एक अर्कालाई कहाँ जाने कहाँबाट आएको यो ठाउँ कस्तो यहाँका मान्छेहरू कस्ता छन् गाउँमा पशुपालन र कृषिको अवस्था कस्तो छ सबै थाहा पाइन्थ्यो । आफ्नै पनि दुख सुख बताउँदा समय र बाटो काट्दाको थकान त्यतै छाडिने रहेछ ।सार्वजानिक साधन छाडेर निजी सवारीमा हिड्दा त बाटोभर मान्छे एक्लै या त फोनमा परिचितसँग कुराकानी गर्यो या गुगल ।विकास र प्रविधिले मान्छेलाई एक्लो र निरस बनाएको स्वयं अनुभुति गरेँ । तर विकास र प्रविधिका यी आविष्कारकर्ताले मान्छेलाई एक्लै बनाउने कहिल्यै सोचे होलान् र ? 

दही नेपाली समाजमा साइतको प्रतिक मानिन्छ ।शहिद लखनमा दही नै स्वागतको खाजा बनेको थियो ।त्यहिँबाट नै होला सकरात्मक प्रभाव परेको उक्त कार्यालयप्रति । परिचयको क्रममा अध्यक्षले मलाई धेरै समय उक्त ठाउँमा नबस्ने आशंका गर्दासम्म म कतिसमय उता बस्छु आफैंलाई थाहा थिएन ।

नेपालमा डोजर भनेको विकासको पर्यायवाची जस्तै रहेको छ । गोरखा बजारबाट पूर्वतिर लागेपछि देखिएका डाँडा कुनै पनि कोतरिन बाँकी थिएनन् । तर दुर्गम घोषित घैरुङ जाने कालोपत्रे बाटो देखेपछि भने मैले मेरो सुगम शुक्लागण्डकीको हालतले आहात बनायो ।

आफ्नो एकलकाँटे बानीले होला धेरेजसो जमघट समारोह तथा कार्यालयकै कामको शिलशिलामा पनि एक्लै हुन्छु । परिस्थितिजन्य घुलमिल नभएकै कारण धानभित्रको सामा उपनाम पाएको थिए कतै ।

प्राकृतिक रुपमा जस्तो भएपनि कार्यालयको वातावरण आफुअनुकुल लागेको ठाउँ हो घैरूङ। जहाँ कार्यालयका हरेक निर्णयहरू कार्यालय प्रमुखको मनखुशीले हैन सबै साथीहरूको राय सल्लाह अनुसार गरिन्छ । चल्ताफुर्ता व्यापारी र आफ्नो धुपौरे बाहेक अरूसँग आफ्नो बहुमुल्य बचन खेर नफाल्ने प्रमुखहरू देखेको मैले हामीसँग पारिवारिक वातावरण निर्माण गर्ने प्रमुख पहिलोपटक भेटेको ठाउँ भयो घैरुङ ।हरेक कर्मचारीलाई आफ्नो विज्ञता प्रदर्शन गर्नको लागि अवसर प्रदान गर्ने र कार्यक्रमहरू सोही अनुसार तर्जुमा गर्ने परिपाटीले पनि होला हाकिम र पालिका प्रमुखको पछाडि कुरा गर्ने कोही थिएनन् ।अझ रमाइलो कुरा त तँ कुन पार्टीको कर्मचारी भनेर कसैले सोधेनन् । 

धेरैजसो बाहिरका कर्मचारी भएको कारण पनि बस्ने ठाउँ नजिकै भयो । भान्छा एउटै भयो । दुखसुखका कुराहरू साटासाट भए । सबैभन्दा एकअर्काका खुट्टा भन्दा हात तान्ने प्रवित्तिको सङ्गत भयो ।त्यसैले शहिदलखन गाउँपालिका मनमा रह्यो । रुची भएपनि खेलकुदमा खासै सीप नभएको मैले त्यहाँ पुगेपछि ब्याडमिन्टन खेल्न सिक्दै थिएँ छाडेर हिँडे ।

सामाजिक अजासु (अतिजान्नेसुन्ने) जहाँपनि हुन्छन् भौगोलिक विकटताको हिसाबले मैले कम होलान् भनेको अलि बढि भेटेँ ।पशुपालनको क्षेत्रमा धेरै काम गर्न सकिने रहेछ । स्थानीयका गुनासा त स्वभाविक नै हुन् । गाउँपालिकाको प्रशासकीय भवनको रुपमा बनेको दरवार अलि फजुल खर्ची लाग्यो ।

पालिका प्रमुख भन्दा पनि कार्यालय प्रमुखको दक्षताले अन्य कर्मचारीहरूलाई काम गर्ने यथार्थ वातावरण निर्माण गर्ने कुरा त सर्वस्विकार्य नै छ ।जनताका माग र आवश्यकताको नाममा आफ्नालाई पोस्ने प्रवित्ति रहेसम्म लोकतन्त्र संस्थागत बन्दैन ।लामो समयको सरकारी जागिरे अनुभव र ६० प्रतिशत भन्दा बढि जनता आवद्ध रहेको र कुल ग्राहस्थ उत्पादनमा एकतिहाइ योगदान रहेको क्षेत्रमा काम गरिरहेकोले नेपालीहरू कसरी परनिर्भर भइरहेका छन् भन्ने यथार्थताको साक्षी बनिरहेको छु ।आम मानिस कोहीपनि कसैसँग सन्तुष्ट नहुनु भनेको आफैसँग सन्तुष्ट नहुनु हो । तर आफ्नो क्षमताभन्दा बढि अपेक्षा राख्नु भनेको अनावश्यक दुख बेसाउनु हो । त्यसैले अहिले जहाँपनि दुखी मात्रै भेटिन्छन् ।विज्ञले आफ्नो विज्ञता भन्दा चाकडीको भाषा बोल्ने र राजनीतिकर्मीले चाकडी र विज्ञता छुट्ट्याउन नसकेकाले आजको असन्तुष्टी देखिएको कुरामा म दृढ छु । 

मलाई ऋषि धमला झै आफैँ क्यामेराको अगाडि परेर भन्दा आफ्नो काम देखेरो कोही क्यामेरा लिएर आउने गरी काम गर्न मन पर्छ । “कर्मलाई सम्मान गर्नेले अरुको अगाडि कहिल्यै झुक्नुपर्दैन तर कर्मलाई सम्मान नगर्ने मान्छे सबैको अगाडि झुक्नुपर्छ” एपीजे अब्दुल कलाम यो भनाइलाई सधैँ शिरोधार्य गरेर हिँड्छु ।

संघीयताको पक्षपाती भएको कारणले कर्मचारी समायोजनमा स्थानीय तहमा परेकोमा कहिल्यै गुनासो रहेन अझ भिमाद नगरपालिकामा गरेको कामको मूल्याङ्कन गर्दै पशुसेवा विभागबाट उत्कृष्ट कर्मचारीको सम्मान पाएपछि अझ राम्रो गर्नुपर्ने जिम्मेवारी थियो । यस्तैमा आफ्नै शुक्लागण्डकी नगरपालिकामा त्यो काम अझ सहजताका साथ अगाडि बढाउने आश थियो । बर्मा गए कर्मसँगै भने झैँ शहिद लखनमा पनि केही न केही नयाँ त गरिन्छ होला भन्ने थियो तर बेलैमा हिँडियो । सबैभन्दा थोरै समय बसेको ठाउँ तर धेरै मिल्ने सहकर्मीहरू भएको कारण होला जागिरे जीवनको सोह्र वर्ष पुग्दा पनि सोह्र हप्ताको शहिद लखन गाउँपालिका बसाईं यादगार रहेको छ ।

Comments

Popular posts from this blog

ऐंठे सिक्री !!

धौलागिरि