ऐंठे सिक्री !!
यसपाली भने गज्जबै गर्यो कोरोनाले । तिमीलाई माइत नजान कुनैपनि बाहना पार्नु परेन,, अझ पालो भन्दा पहिल्यै तिमी पर सर्नुपनि परेन । माइतीबाट आएको फोनको भाइब्रेसनले फोन भन्दा बढी तिमी भित्रको मन थर्किएको पनि त महशुस गरेको थिए नि मैले ! अनि हिजैमात्र नगरपालिकाले जारी गरेको निषेधाज्ञाको बारेमा थाह पाएपछि गह्रुङ्गो घाँसको भारी बोकेर अप्ठेरो बाटो कटिसकेपछि भेटिएको विसौनीमा फ्यात्त फालेपछिको आनन्द जस्तै हलुका महशुसको अनुभव पनि गरेकै हो । अरुले देख्दा माइत जान नपाएर विरक्तिएको अनुहारभित्रको यथार्थता मैले बाहेक अरु कसले बुझ्छ होला र ? आठ वर्षमा बिहेको वर्ष बाहेक अन्य तिजमा एकपटक पनि माइत नजानुमा २ वर्ष मात्रै त हो वास्तविक कारण परेको । त्यहिँ वर्ष पनि त्यहि सिक्रीको सोधनी नभएको भए, तिमीले वास्तविक जवाफ नदिएर कुरा मिलाउन जानेको भए तिमीलाई हरेक तिजमा माईतीको आँगनमा गएर नाच्ने रहरलाई पक्कै मार्नुपर्दैनथ्यो । तिम्रा यि इच्छा मार्नुपर्ने कुनै कारण देख्दिन भने पनि मुख्य कारण त म नै थिए नि ! विदेशमा धेरै कमाउनेको प्रस्ताव आउदा तिमीले विदेश जानेसंग विहे नगर्ने भनेकै कारणले त प...