ऐंठे सिक्री !!
यसपाली
भने गज्जबै गर्यो कोरोनाले ।
तिमीलाई
माइत नजान कुनैपनि बाहना पार्नु परेन,, अझ पालो भन्दा पहिल्यै तिमी पर सर्नुपनि
परेन ।
माइतीबाट
आएको फोनको भाइब्रेसनले फोन भन्दा बढी तिमी भित्रको मन थर्किएको पनि त महशुस गरेको
थिए नि मैले !
अनि
हिजैमात्र नगरपालिकाले जारी गरेको निषेधाज्ञाको बारेमा थाह पाएपछि गह्रुङ्गो
घाँसको भारी बोकेर अप्ठेरो बाटो कटिसकेपछि भेटिएको विसौनीमा फ्यात्त फालेपछिको
आनन्द जस्तै हलुका महशुसको अनुभव पनि गरेकै हो ।
अरुले
देख्दा माइत जान नपाएर विरक्तिएको अनुहारभित्रको यथार्थता मैले बाहेक अरु कसले
बुझ्छ होला र ?
आठ
वर्षमा बिहेको वर्ष बाहेक अन्य तिजमा एकपटक पनि माइत नजानुमा २ वर्ष मात्रै त हो
वास्तविक कारण परेको ।
त्यहिँ
वर्ष पनि त्यहि सिक्रीको सोधनी नभएको भए, तिमीले वास्तविक जवाफ नदिएर कुरा मिलाउन
जानेको भए तिमीलाई हरेक तिजमा माईतीको आँगनमा गएर नाच्ने रहरलाई पक्कै
मार्नुपर्दैनथ्यो ।
तिम्रा
यि इच्छा मार्नुपर्ने कुनै कारण देख्दिन भने पनि मुख्य कारण त म नै थिए नि !
विदेशमा
धेरै कमाउनेको प्रस्ताव आउदा तिमीले विदेश जानेसंग विहे नगर्ने भनेकै कारणले त प्राइभेट स्कुलमा पढाउदै डिग्री पढ्दै गरेको
केटो भेट्नुभएको रे नि त तिम्रा बुबाले ।
पढाई
सकेर जागिर गरेपछि मात्रै विहे गर्ने भन्दा भन्दै राम्रा कुटुम्बले देखाएको त्यति
टाढा पनि हैन जानेबुझेको ठाउँ अनि असल शील स्वभावकी भनेर करकापमै हेर्न गएको थिए म
पनि उस बखत ।
तिमी
बिएड दोस्रो वर्षको परिक्षा सकेर घर फर्कदै गर्दा मलाई देखाउन लानेको घरमा
पहिलोपटक देखेको हो तिमीलाई !
दुवईको
एयर्पोर्टमा काम गर्ने, महिनाको साठी हजार कमाउनेको प्रस्ताव तिमीले स्विकार गरिनछौ ।विदेश जानेसंग
विहे नगर्ने अड्डी नै कसेपछि क्याम्पसमा कसैसंग चक्कर चलेको छ कि भनेछन् । अनि पो
छिमेकी काकाले मेरो लागि तिम्रो हात मागेपछि कुल खानदान् बुझेर ठिकै-ठीकैको हो
भन्नुभएको रे तिम्रो बुबाले ।
अनि
नेपालमै रहने भन्दा तिम्रो मौनतालाई स्विकृतिको रुपमा बुझेपछी तिमीलाई हेर्न मलाई
बोलाएका रे ।
अझै
दुईचार वर्ष नगर्ने भनेको विहे है तिमीलाई देखेपछि कसरी अगाडि सर्यो कुन्नी अझै
अनविज्ञ नै छु । प्राईभेट जागिरको यसैपनि विदा कम हुने, असारको महिना, त्यसमाथि
काठमाडौंको बसाई घर भनेपछि दुईतिन दिन काम मार्नैपर्ने । हुन त कतिनै छ र घरदेखि
काठमाडौको दुरी ? पुग नपुग एकसय असी किमी ।तर के गर्नु सार्वजानिक यातायात, थानकोटको जाम, कलङकीको जाम उफ् कहिले कोठामा
पुगम् हुन्थ्यो । अँ साच्ची तिमीलाई देखेपछि मेरो मुड खै कसरी परिवर्तन भयो कुन्नी
थाहै पाईन । त्यो घरको काकीले कैलाश चिया नै पकाउनुभएको रहेछ कि कुन्नि उस बखत !
वर्खा
भएकोले टिकोटालोको टण्टो नगरी कुरा मिलेपछि एकैपटक लिएर जानेगरी आउनुस् । तिम्रा
बुबाको कुरा लमीलाई कम मलाई बढी सुनिने गरि नै अह्राएका थिए ।
झमझम
पानी पर्दा खोजखन्तर गरेर पनि एकसरो लुगा र एकजोर गहना त राम्रै लिएर जानुपर्छ ।
कुलको इज्जत बचाउनु पनि पर्छ नि । तिनै छिमेकी काकाको खटन भयो ।जोरजाम खोजखन्तर गरियो । लगभग तिस पैतिस हजार रुपैया पुगेन । सरसापट चल्ने धेरैको घर चाहर्दा पनि नपाईएपछि
मैले एक तोलाको सुनको सिक्री नलाने निर्णय गरे जसले त्यसको परिपुर्ति गर्दथ्यो ।
विहे भएपछि एकै परिवार त हुने हो । त्यहाँमाथि दाईजो एक सुका पर्दैन भनिसकेपछि
अलिअलि सम्झौता त होला नि ! कुरो राखे उनै लमी काकासंग ! काकाले आइडिया लगाए । मिण्टस खाएर दिमागी बत्ति बलेको झै ।
अहिलेलाई सिक्री किन्ने दुल्हन फर्केपछि बेचिदिने, यसैपनि सुन भनेको नगद जस्तै त
हो । कुरो “ओके” भयो ।थेसिसको लागि कम्प्युटर आवश्यक हुन्छ भनेर जोगाएर
राखेको पैतिस हजार पनि प्रयोग गरियो । “घ्यू केमा पोखियो भागैमा” भन्दै ।
दुल्हन
फर्काउन गएर फर्किदा बाटोमै सिक्रीको कथा/व्याथा तिमीलाई भनौ जस्तो पनि लागेको
थियो । तर भर्खरै छाएको खुशी हराउने डरले जित्यो केहि कुरै गरिन यसबारेमा । हप्ता
दिन नपुग्दै फेरी पुग्नुपर्छ काठमाडौं । पहिलोपटक विद्यार्थी डिस्काउण्टको कचकच
नगरीकन चढे कारण तिमी र सामान सहित बिच बाटोमा ओर्लन नपरोस्।बिहेपछि यस्ता धेरै
कुराहरुमा सम्झौता गर्नुपर्ने सुद्दि कताबाट आएछ कुन्नि !
विहेको अर्को नाम सम्झौता राख्दा हुने रैछ ।काठमाण्डौको यात्रा त सधैको
जात्रा नै हो । त्यसमाथि तिमीलाई गाडी लाग्ने ।
नियमित
स्कुल, कोठाको व्यवस्थापन, तिम्रो कलेजको ट्रान्सफर, साथिभाइ भेटघाट-पार्टी मेरो
थेसिसको समय उफ्फ ।तर मेरो प्रस्तावमा कहिल्यै “अब्जेक्सन” गरिनौ । यस्ता अनेक कारण छन्
तिमीप्रतिको माया बेहद् बढ्नुमा ।आफन्तसंगको कुराकानी अनुसार तिमी बुहारीमा
डिमोसन,मेरो ज्वाईँराजामा प्रमोशन ।ओहो काठमाण्डौ ! सोचेजस्तो कहाँ हुदोहेछ र ? त्यहि भएर त यो साल तिजको गित हिट भएको “सोचे झै जिन्दगी रैनछ” ।दिन कति छिटै वित्ने हुन् फेरी ।मसंग नभए पनि तिमीसंग त
फोटो खिच्ने मोबाईल पनि थियो १ जिबीको मेमोरी कार्ड भएको। भिनाजुले कतारबाट
पठाईदिनुभएको । बचेखुचेको समयमा खिचिक्क पार्नपनि भ्याउथ्यौ नि क्यामेरा यतापट्टी
पारेर एक अर्कालाई अंगालो मारेर।उत्तिखेरै खुशी चुलिएर चन्द्रागिरीको टुप्पामा
पुग्थ्यो । साउनमा गएको पशुपती एकपटक अनि कहिलेकाँहि रत्नपार्क नत्र त्यहि टियूको
कम्पाउण्ड बाहेक अन्त कता लगे र घुमाउन पनि ।समय नभएको कि मिलाउन नजानेको ? कहिल्यै फुर्सद
भएन ।
थेसिसको
शिर्षक तोकियो । अब प्रपोजल पेश गर्ने
भन्ने कुरो आयो । त्यहि दिन तिमीलाई माइतीबाट तिजको लागि बोलावट ।उसबेला तिम्रो
मुहारको खुशी आजको झै कहाँ पढ्न सक्थे र ? भर्खर त नर्सरीमा भर्ना भएको थिए नि ! वैवाहिक जिन्दगीको स्कुलमा ।तै
पनि त्यो दिनजति राम्री त मैले तिमीलाई कहिल्ये पनि देखेको थिइन ।बाहिर कतै गएर
क्याण्डिल लाईट डिनर खुवाउन मन लाग्यो । रेष्टुरेण्ट त पाँगा दोबाटोको समोसा पसल र
टियू को क्याण्टिन बाहेक अरु कहाँ चिन्नु ।त्यै नि हिसाब गर्दा दुई पाउ चिकेनसंगै
अठार घण्टे लोडसेडिङले जुराएको क्याण्डिल लाईटमै डिनर खाईयो । एउटा पाँचसय एम एलको
कोक सहित ।
प्रपोजल
र थेसिस गर्न कम्प्युटर आवश्यक पर्ने कुरा बताए । तिमी बिचरा के नै गर्थ्यौ र ? बिहेमा टिका लगाएर दिएका रुपैया त
सबै कोठा व्यवस्थापनमा सकिएको थियो । काठमाण्डौं पैसाले बनेको शहर हो । यहाँ पैसा
बिना केहि सम्भव छ र ? नातागोता साथिभाई इष्टमित्र सब सम्बन्ध पैसामा निर्भर रहन्छ ।सरसापटको
कुरा कसैसंग नगरेकै वेश हुन्छ । कसैको भर छैन । त्यसैले होला डर र कर पनि कसैको
छैन नि ।
उपाय
त्यहिँ थियो ।चिलले चल्ला देखेको झै मैले देखिरहेको तिम्रो घाँटीमा झुण्डिरहेको
ऐठे सिक्री । मैले जति अप्ठेरो मान्दै यो प्रस्ताव राखेको थिए तिमीले उती सहजताका
साथ स्विकार्यौ । अनि त आइहाल्यो नि ! एक जिबी र्याम, दुइसय पचास जिबी
हार्डडिस्क,आईकोर प्रोसेसर सत्र इण्च एलसिडी मोनिटर, यूपिएस, टेबल, प्लास्टिक
कुर्ची, अझ महत्वपूर्ण त यूटीएल को यु सिम राखेर इन्टरनेट चलाउने डिभाईस् सबै
पुग्यो । पहिलोपटक न्यूरोडको आँगन रेस्टुरेण्टको इण्ट्रि समेत ।बेलुका अझ नब्बे
रुपैयाँको दुइपाउ चिकेन पनि अनि दुईजनाको
रात्रीभोज ।
मेरो
प्रपोजल, डाटा एनलाइसिस, थेसिस टाइपिङ सबै यसमै हुनेभो । फर्किदा घर पसेर आउने गरि
कुशे औंसीको अघिल्लै दिन तिमी लाग्यौ माइत ।पहिलोपटक भेटेपछि पहिलो पटक नै
छुट्टियौ त । कलङ्कीबाट तिमीलाई बस चढाएपछि के छैन जस्तो, आफु भित्र आफै नभएको
जस्तो रित्तै भएको जस्तो लाग्न थाल्यो । कोठामा पुगे सबै थोक सहि सलामत थियो संगै
तिमीले तयार पारेको रुटीङ पनि । तर केहि पनि नभएको जस्तो । नौबिसे पुगेँ, मलेखु, मुग्लिङ, आँबुखैरेनी, डुम्रे,
दमौली, दुलेगौडा जहाँ पुग्यौ त्यहिँबाट फोन गर्यौ . सायद नेटवर्कले टिप्ने ठाउँ नै तिनै थिए क्यार। पकाएर खानु,
न्यास्रो नमान्नु, कतै जादा झ्यालढोका बन्द गरेर जानु, पकाउदा पकाउदै पढ्न नबस्नु,
पानी उमालेर मात्रै खानु, एक एक आदेश गर्छ्यौ त ! यसलाई आदेश मानु,
सल्लाह मानु असीम प्रेमको अभिव्यक्ति मानौ दोधारमा परिरहे । म त केहि नजान्ने पो
भएछु । दुई महिनामै के भयो ? बुझ्ने र सक्ने भएपछि पहिलो रात भोकै सुते छटपटीमा।
भोलिपल्टदेखि त नियमितता भैहाल्यो नि ! तर ति सात दिन मेरा लागि असाध्यै लामा लागे ।
आउनेबेला
लिन कलङ्की पुगे । तर तिम्रो अनुहार उज्यालो थिएन,थकाईले होला भन्ने लाग्यो मैले
नै खाना बनाए, तिमीले खाना पनि खाईनौ । केहि भन्दा पनि भनिनौ । २/३ दिनपछि बल्ल
सिक्री नबेचेको भए हुने रहेछ मात्रै भन्यौ । बेच्न मन नलागेको भए त अस्तिनै हुन्न
भन्थ्यौ नि ! दिदीबहिनीहरुले लगाएको देखेर मात्रै लगाउन हो भने पनि यति साह्रै
नहुनुपर्ने, जरुर केहि छ । एक हप्ता पछि कम्प्युटरमा फिलिम हेर्ने बेलामा गहनाको
कुरा निकाल्यौ । मोबाईलबाट डाटा केबल जोडेर सबका तस्बिर एक एक देखायौ । सबैका रातो
सारीमा पहेँलै घाँटी अझ हरियो छड्के तिलहरी सहित बिहेको पहिलो वर्ष नै रित्तो
घाँटी कागको माझमा बकुल्लो झै।पहिलो गाँसमै ढुङ्गा । घरमा समेत त्यो जाबो कम्युटर
किन्न जोरेको गहना बेच्नुपर्छ भन्ने कुरा भएछ । माइतीमा त उल्ली र बिल्ली परेछन् ।
बिचरा तिम्रो कोमल मन् ।पछि किनौला नि तिमीलाई विश्वास दिलाउन खोजे । तर त्यो
बोलीमा मेरै कति विश्वास थियो मैलाई थाह भएन ।
त्यहिँ
कम्प्युटरले मैले थेसिस पुरा गरे।महाबौद्धमा पाईने बिस रुपैयाका डिभिडि ल्याएर फिल्म
त कति हेर्यौ कति फिल्ममा त विशेष तिम्रै चासो रह्यो। एकालासको साथि त्यहिँ फिल्म
नै भएर त होला ! युटिएल बाट नेट चलाएर याहु आइडी खोल्यौ । पछि फेसबुक पनि खोल्यौ ।तिमी
पनि अलिअलि कम्प्युटर चलाउने भयौ । यूपिएसबाट केहि समय बत्ति बाल्ने काम पनि गर्यौ
। मोनिटरमा टिभीकार्ड जोडेर टिभी पनि हेर्यौ । २ वर्षपछि प्रावि शिक्षक
भएँ।काठमाडौ छाडियो तिमी आमा बन्यौ । सानी छोरी टुकुट्टुकु हिड्ने भइन् ।लौ उसलाई
पनि नाक कान छेड्दिनुपर्छ, मैले असहमती जनाए पनि काम भएन ।मामाघरतिरबाटै कानमा
एकजोर मुन्द्री छोरीका कानमा टलक्क टल्किए । नाक भने अझैसम्म सद्दे नै छ ।
पछि
किन्ने भनेको ऐठे सिक्री किन्ने दिन अहिलेसम्म आएन ।सुनको भाउ अघिअघि मेरो कमाई
पछिपछि । अझसम्म भेटिएन । त्यहि कम्प्युटर अस्ति बिग्रियो । बनाउन लग्दा यत्रो आठ
वर्षको कम्युटर अब बन्दैन भन्यो । अनि नबन्ने कम्प्यूटरको हार्ड डिस्क राखेर अरु
सबै सामाग्री कवाडीलाई बेचिदिए रु तिनसय पचासमा।
आज तिज
तिम्रा दिदीबहिनी र दाजुले ग्रुपमा आफ्नै घरबाट भिडियो कल गर्दा तिमी भाडाकै
कोठाबाट गर्यौ भलै त्यस ग्रुपको निर्माता तिमी थियौ ।च्याट सकिएपछि एकपटक सुस्तरी
भन्यौ त्यो बेलाको पैतिस हजारको सिक्री आज एक लाख गर्ने रहिछ कम्युटर किनेर के भयो
त ? आठ
वर्षे सहयात्राको पहिलो गुनासो तिम्रो म अनुत्तरित रहे ।
२०७७-५-५
आफ्नै कथा जस्तो गरी कति मीठो कथा लेख्नुभएको । कथाको पात्रमा कता कता म आफू नै चित्रित भैरहेछु की जस्तो पनि महशुस भो मलाई । मुन्सी प्रेमचन्द्रका कथाहरू पछि सम्भवतः यो मात्र यस्तो कथा हो जुन मैले तेहेर्याएर पढेँ । गुरूको जय होस् । लेख्ने काम फेरि जारी रहोस् ।
ReplyDelete