समय
दश कक्षाको टेस्टमा फेल भएपछी दर्वाङ बजार चाहारेर लाहुरेको भारी बोक्नु मेरो
दैनिकी थियो । लाहुरेको भारी नपाएको बेला चितवनतिरबाट आएका राता कुखुरा बोकेर गाँउ
गाँउ डुलेर बेच्नु वाध्यता जस्तै थियो । रातो कुखुरा हेर्दा लोकल जस्तै देखिने मासु
चाम्रो हुने भएकाले सबैले मन पराउथे । खासगरी रक्सी पसलमा त चाडै नै सकिन्थ्यो । के
गर्नु ! परिवार पाल्नै पर्यो । भारी तथा
कुखुरा नपाएको दिन दर्वाङका होटलहरुमैदिन वित्थ्यो । भर्खरको देखेर हो या आफ्नै
दौतरी जस्तै ठानेर प्राय लाहुरेहरुले मलाईनै भरीया बनाउन खोज्थे । दलाललाई
पासपोर्ट बुझाएको दुई महिना भैसकेको थियो ।
एक दिन एउटा लाहुरे आयो । कालो चस्मा, टि सर्ट र
जिन्सपाईन्ट लगाएको, गोरो छाला भएको । आँखा र नाकले मात्र नेपाली
भएको छनक दिन्थ्यो नत्र विदेशी जस्तै देखिन्थ्यो । हुन त प्राय लाहुरेहरु भर्खर
आउदा यस्तै देखिन्छन । महिनादिनमै पछि हामी जस्तै हुन्छन् । छतमा राखेको सुटकेस
झार्ने क्रममा खलासीले मान्छेकोभन्दा
दोव्वर भाडा लाग्छ भन्दा अनुहार केही विगारेपनि उसले केही भनेन । म आफ्नो
रोजगारदाता पाएकोमा भित्र भित्रै दंग थिए । पुर्याउने ठाँउ र मोलतोल गरिसकेपछी म आफ्नै नाम्लोले सुटकेस
बाँधी बोकेर अघि अघि हिड्न थाले ।
होटेलमा उसले मलाई वियर र सुकुटी खुवायो । कति दिनदेखी लोकलले काम चलाईरहेको
मलाई आज वियर निकै मिठो लाग्यो , बाटोमा उसले विदेशको विकास र कमाईको खुव गफ लगायो । मैले पनि आफुले दलाललाई
पासपोर्ट बुझाएर आएको कुरा बताएँ । उसले आफू फिनिस आएको र अब मिलेसम्म अर्कै देश
जाने बतायो ।
मेरो भिषा लागेछ, दलाललाई एक लाख विस हजार रुपैया बुझाएर म पनि
विदेश गए । दुई बर्षपछी म पनि लाहुरे भएर फर्के । दर्वाङमा गाडीबाट झरेपछी भरिया
खोज्दै गर्दा एकजना आएर भन्यो ''दाई भरिया चाहिने
हो ? कालो अनुहार दुब्लो शरिर फुस्रो कपाल र मैला
लुगा लगाएको मुखबाट ह्वास्स रक्सीको गन्ध आउने त्यही लाहुरे थियो जसको भारी मैले
दुई वर्षअघी वोकेको थिँए ।
Comments
Post a Comment