“घरज्वाईंलाई हैन आफ्नो सदस्यलाई प्रश्रय दिऔं”

 

ज्वाईं साहेब खाना- १६५

मित ज्वाईं खाना -२५५

भाञ्जी ज्वाईं खाना-२९५

छोरी ज्वाईं खाना ३२५

बहिनी ज्वाईं खाना ३३५

ज्वाईं राजा खाना- ४३५

अलिक अगाडि फेसबुकमा एउटा तस्बिर सेयर भएको थियो ज्वाई खाना भन्ने । नितान्त व्यापारिक प्रयोजनको लागि गरिएको त्यो विज्ञापनले स्वभाविक रुपमा ग्राहकहरुलाई आकर्षण गरेकै कारण समाजिक सञ्जालमा पनि धेरैको चासोको विषय बन्न पुग्यो । नेपालका सबै जातजातिको त हैन तर राज्यको केन्द्रीय तहमा बाहुल्य रहेको जातिको साँस्कृतिक अवस्थालाई प्रतिनिधित्व गरेर त्यो रेस्टुराँमा खानाको मेनु तयार पारेको देखियो ।विभिन्न ६ प्रकारका ज्वाईँलाई विभाजन गरि त्यहि किसिमका मुल्य र भेराईटी राख्ने व्यापारिक पोलिसीलाई गज्जब मान्नुपर्छ ।

बाहुन क्षत्री समुदायमा ज्वाई शब्द छोरी या बहिनीको श्रीमान् मात्रैसंग सम्बन्धित छैन, समाजमा रवाफिताको अनुपम नमुना पनि हो । ज्वाईले ससुरालीमा देखाउने रवाफ र ससुरालीले ज्वाईलाई गर्ने सम्मान अलि आडम्बर युक्त र ढोंगी पनि हो भलै यो प्रचलन हिजोआज कमै मात्र देख्न पाईन्छ । 

हाम्रो समाजमा आँफू दुःखी भएपनि पाहुना आएका ज्वाईँलाई मिठो मसिनो खुवाउने अनि अत्यन्तै मान सम्मान इज्यत दिने प्रचलन रहि आएको छ भने संगै आएकी छोरीलाई आफूले जे खाने हैसियत छ त्यहीं नै खुवाउने गरिन्छ त्यसैले त कहिले माइत जाम्ला.......... खाम्ला उखान चलेको । यसका आ-आफ्नै गुणदोष रहेका छन् ।सामान्य अवस्थामा ज्वाईंलाई घरैमा राखेर लामो समय पालिदैन अर्थात ज्वाईं लामो समय ससुराली बस्दैनन् ।घरज्वाई  पाल्नुपर्दा गाह्रो भएकाले नै होला ........घरज्वाईलाई खानैको धन्दा भन्ने उखान पनि चर्चित पाईन्छ । अझ विदेशी ज्वाई भइदिइको भए नेपालीलाई के के हुन्थ्यो होला ?

म ज्वाईंको समाजशास्त्रीय व्याख्यानतिर नलागी म यसको व्यवहारिकता तिर लाग्छु ।

अधिकाँश निर्वाहमुखी प्रणाली अवलम्बन गरेको नेपाली कृषि क्षेत्रमा हिजोआज थोरैथोरै परिवर्तनको बाछिटाहरु देखिन थालेका छन् ।अझ सामाजिक सञ्जालको लोकप्रियतासंगै विदेशमा पसिना बगाईरहेका आम नेपाली दाजुभाई दिदीबहिनी नेपालमा आएर व्यवसायिक कृषिमा होमिन खोज्नु असाध्यै राम्रो कुरो हो ।घाँसमा आधारित पेशा हुनु, देशको भौगोलिक अवस्था र बजारको अत्याधिक माग विदेशी खसीबोकाले धानिरहेको कारणले पनि बाख्रापालनमा झन् अहिले धेरैजसोको चासो रहेको छ । युट्युबमा दैनिक यो वा त्यो फर्मले बाख्रापालनबाट यति कमाइ गरे उति कमाई गरे भन्ने भिडियो लाईक र सेयर भइरहेका हुन्छन् ।अनि जातजातका र थरीथरीका बाख्राका तस्बिरहरुले भरिएका सामाजिक सञ्जालहरु देख्दा यस्तो लाग्छ नेपालमा बाख्राको उत्पादन अहिलेको कोरोनाको व्यापकता जस्तै बढिरहेको छ ।अझ पछिल्लो समय व्यापकता पाएको बोयर भनिने  बोर बाख्रा त झन यति चर्चित भइदियो कि अरु बाख्रा त बाख्रा नै हैनन् जस्तो बोरको तुलनामा । वृद्धिदर राम्रो, हेर्दा आकर्षक सेतो शरीर, रातो टाउको, जुम्ल्याहा पाउने अनि तराई तथा पहाडमा हुर्कन सक्ने यो बाख्राको माग बजारमा अत्याधिक छ। तर विगत एक दशकदेखि बाख्रा जुन प्रायोजनको लागि पालिन्छ त्यो प्रायोजनको लागि बोर बाख्रा बिक्री भएको भने पटक्कै हैन । नियमित अस्ट्रेलियाबाट आयात गरिएको नेपालका विभिन्न फार्महरुमा व्यापकता पाईरहेको बोर बाख्राको बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरले अनुसन्धान गरिरहेको छ । तर आफुलाई बोरको ज्ञाता/ मसिहा नै ठान्ने आयातकर्ता तथा ठूला लगानीकर्ताहरु यसको मुल्य अनमोल रहेको बताईरहदा सबै यसको पछि दौडिरहेको दृष्टान्त हामीसामु छर्लङ्गै छ ।कृषकहरुलाई वास्तविक कुरो बताउन नपाउदै स्यालले कुखुरो टिपेर दौडेको शैलीमा दलालको पछाडी कुद्दा समस्याहरु देखिन थालेका छन् । शुरुका केहि वर्ष केहि नयाँ खोज गर्ने कृषकहरुले आयात गरि पालन गर्दा यसको वृद्धिदर र वजन देखेर हौसिएपछि नै बजारमा आयातकर्ताहरु थपिएको पाईन्छ ।

विश्व व्यवस्था र भुमण्डलिकरणको वर्तमान अवस्थामा मान्छेले चाहेको व्यवपार व्यवसाय गरि खान पाउनुपर्छ । व्यापार पुजीँवादको प्रमुख हिस्सा हो वजारको मागमा आधारित रहेर नै अस्ट्रेलिया लगायतका देशहरुबाट नेपालमा बोर बाख्राहरु आयात भइरहेका छन् । यसमा पाठी भन्दा पाठाहरुको संख्या बढि रहेको छ । यसरी आयात भएका बोर बाख्रा हरु सामान्य कृषकको पहुचमा कसै छैनन् । सामान्य ५०० रुपैया प्रतिकेजीमा खसी र ५ देखी १०००० सम्ममा माउ बाख्रा बेचिरहेको कृषकले ५००० प्रतिकेजीको माउ तथा बोका किनेर कतिमा मासु बेच्ने ?  हिजो मासु खान विदेशिएको पैसा फेरि अर्को उद्देश्यको लागि विदेशिरहेको छ ।  विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरुले देशका विभिन्न सथानमा बोरका बोकाहरु वितरण गरिरहेका छन् । अभिलेख प्रणाली कमजोर भएको हाम्रो समाजमा कहाँ कति बोका वितरण गरिए तिनको उत्पादन कति छ त्यो बाड्नु अघि र पछि आम कृषकको जिवनस्तरमा के कति परिवर्तन आयो यसको लेखाजोखा कसले गर्ने ?   

एक प्रतिवेदनमा उल्लेख भए अनुसार नेपालमा आयात गरिएका अभिलेख भेटिएका ८५ बोकाहरु २६ वटा बाउ र २४ वटा हजुरबाउका सन्तान भएको पाईएको छ । अझ तिनका जिबा अझ थोरै रहेकाले ति बोकाहरु नेपालको जुनसुकै कुनामा लगेको भएपनि आगामी दिनमा बोर बाख्रामा हुने हाडनाता प्रजनन्‌लाई रोक्न कसरी सकिन्छ ? ठूलो लगानी गरेर कृषक भएका, बिचमा बोर जातलाई धेरै मुल्यमा बेचिरहेका कृषकहरु तथा दलालहरुले सामाजिक सञ्जालमा भनेझै बोर बाख्रा दिनमै ५०० ग्राम बढ्ने हैन । बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरको रेकर्ड अनुसार एक वर्षमा ५०% बोर प्रतिदिन पाठा १०७.०९ र पाठी ९९.४२ ग्राम दैनिक बढेको पाईन्छ भने  १००%बोर प्रतिदित पाठा १३९.२ र पाठी ११४.०८ ग्राम बढेको छ । जब कि स्थानीय खरी बाख्रा समेत ५७.८३ ग्राम प्रतिदिन बढेको अभिलेखमा देखिन्छ ।

आम कृषकहरुले नेपालमा पालिरहेका विभिन्न जातका बाख्रा मध्ये नेपालको रैथाने जात खरि अत्यान्तै लोकप्रिय बाख्रा हो । छिटो बढ्ने, जसरी पाल्दा पनि हुने, २ वटा पाठापाठी जन्माउने २ वर्षमा ३ पटक ब्याउने आदि कारणले यो बाख्रालाई नेपालमा गरिबको गाई पनि भनिन्छ ।यो लोकप्रिय हुनुको अर्को कारण हो नेपाली मौलिक स्वाद र सानो आकार । औषतमा ‍ज्यूदो ३८ केजी र मासु २०-२५ केजी हुने नेपाली को खानपानको शैलीसंग अनुकुलन भएको खरी बाख्रा परापुर्व कालदेखि यहिँ माटो र हावापानीमा हुर्किएकोले रोग व्याधीले झटपट आक्रमण गर्न सक्दैन ।  परिवारको गर्जो टार्न देखि चाडवाड मनाउनका साथै आर्थिक उन्नतीको आधारसम्म बनेको बाख्रापालन व्यवसायको मेरुदण्ड खरी बाख्रा नै रहि आएको छ । अब भने त्यो विस्तारै फेरिदै गईरहेको पाईन्छ ।

हाडनाता प्रजनन्, कमजोर व्यवस्थापन, आन्तरक तथा बाह्य परजीवी आदि कारणले हाम्रा स्थानीय बाख्राहरु आफ्नो क्षमता अनुसारको बढेको र आर्थिक विकासमा अगाडि बढेको पाईदैन । तर अहिले व्यापकता पाएको बोर बाख्राको पालन पद्धति र आम कृषकहरुले पालन गरिरहेका खरी बाख्राको पालन पद्धतिको तुलनात्मक अध्ययन गरेर कसले वृद्धिदर तोकेको छ ? आधुनिकता बोकेको समाजमा ज्वाईं राजा तरिकाले बसेर त्यहिं मेनु जसरी खाना खाएर गलैचामा बसेको घरज्वाई र सल्लबल्ल  खाएर गुन्द्रीमा पल्टिने ससुरालीलाई एउटै डालोमा राखेर सोलोडोलो हिसाब गर्दा कति सान्दर्भिक होला ?

त्ययसैले आम कृषक दाजुभाई दिदीबहिनीहरु बोर बाख्राको बा ५००००० हालेर ल्याए पनि त्यसको मासु बेच्ने ५०० मै हो । अझ संसारको ट्रेण्ड हेदा बोरको मासु अन्य खसीको तुलनामा सस्तो हुने समेत बताइन्छ । त्यसो हो भने कृषकहरुले प्रतिफल उठाउने कसरी ? विगत एक दशकदेखी बाख्रा पालन गरिरहदा हेराफेरी र विचौलियाले जति कमाए अरु सामान्य कृषकहरुले त त्यति कमाउन सकेका छैनन् । अधिकाँश कृषकहरुमा त बोर बाख्रा आकाशको फल आखाँ तरि मर भनेजस्तै हो यसतर्फ कहिले र कसको ध्यान जाने ? बजारमा वस्तुको माग धेरै र उत्पादन थोरै हुँदा स्वभाविक रुपले  मुल्य बढी हुन्छ नै । तर त्यसो भन्दैमा जनताको प्रतक्ष्य जनजिविकाको सरोकार र स्थानीय जैविक विविधता र पर्यावरणसमेत लाइ ख्याल नगर्दा भोलि आइपर्ने समस्याको बेलैमा ख्याल गर्ने कि नगर्ने ?

हामीलाई विकास चाहिएको छ । अझ ६५ प्रतिशत कृषक भएको देशमा कृषि बाट नै विकासको छलाङ मार्न सकिने कुरा सबैले मनन् गरेकै हो । छलाङ मार्ने नाममा वस्तुस्थितिको ख्याल नगरी उफ्रिन थाल्यौ भने दुर्घटनालाई कसले रोक्न सक्छ र ? अब राज्यले मुल्य निर्धारण गर्ने, आयातमा सिमितता गर्ने, तथा उपयुक्त प्रजनन् नीति बनाएर प्रभावकारी कार्यान्यननमा नलाग्ने हो भने हाम्रो स्थानीय बाख्रा पनि लोप हुने, हाडनाता र आगन्तुक रोगहरुको कारण बोर बाख्राको वृद्धि पनि घट्ने अनि फेरी अर्को विदेशी जातको पछाडी दौडिनुपर्ने स्थिति नआओस् ।

माथि उल्लेखित मेनु ज्वाईंकै लागि त हैन एउटा ब्राण्ड स्थापित र व्यवसायिक नीति नै हो । किनभने इच्छा लागेका व्याक्ति ति परिकार खानको लागि तोकिएको मुल्य तिरेर खान पाउछन् । त्यसैगरि हाल ज्वाईलाई जस्तै गरि मानसम्मान र आहारविहार पुर्‍याईरहेको विदेशी जातको स्थानमा हाम्रा स्थानीय जातलाई पुर्‍याउन सके वास्तविक रुपमा उत्पादन वृद्धि हुने र आयात प्रतिस्थापनमा सहयोग पुग्नेछ । यति लेखिरहदा अब विकास विरोधीको ट्याग झुण्याउन बेर मान्दैनन् । अब ज्वाईंको लागि छुट्टै परिकार र सम्मान हैन समानताको व्यवहार गरौ । आयात प्रतिस्थापनको नाममा आयातलाई नै प्रश्रय नदिऔ ।

Comments

Popular posts from this blog

जागिरको सोह्र वर्ष, शहिद लखनको हप्ता

ऐंठे सिक्री !!

धौलागिरि