साथिको बारेमा

 

शनिवार विहानै कन्तिपुरको कोसेलीको पहिलै पृष्ठमा फ्रेण्डसिप डे मा बुद्धिसागरको नयाँ  उपन्यास "फिरफिरे" साथीलाई असल उपहार हुनसक्छ भन्ने विज्ञापन देखे ।

नेपाली पाठकमाझ बुद्धिसागरको नाम कसैले लिएन भने उसलाइ नेपाली साहित्यको पाठक हो नभन्दा पनि फरक नपर्ला । झन  आम लेखकको आफ्नो पहिलो कृतिको तुलनामा पछिल्लो कृतिको स्वाद खस्किरहेको वर्तमान सन्दर्भमा उनको दमदार उपस्थितिले साहित्यका पाठकलाई प्रभाव नपार्ने कुरै भएन । उनको फिरफिरे  उपन्यास का पात्रहरु वसन्त र पवनको मित्रता झन उदाहरणिय  छ ।

फ्रेण्डसिप डे अलि अस्तिनै फेसबुकका सस्थापक तथा सि ई ‌ ओ मार्क जुकर्वगले फेब्रूवरी ४ लाई  फ्रेण्डसिप डे  मनाऔं भने जस्तो लागेको थियो । भलै कार्डका व्यापारी हलमार्कले सन् १९१९तिरै मनाउन शुरु गरेका रहेछन भने १९३०मा जोसे हलले अगस्तको पहिलो आइतवारलाई फ्रेण्डसिप डेका रुपमा मनाउने प्रचलन थालेका रहेछन् । विभिन्न देशले विभिन्न मितिमा फ्रेण्डसिप डे मनाउने कुरा पनि कान्तिपुरको विज्ञापनको कारणले अवगत गरायो ।

कुरो कसले कसरी कहिले मनाउन थाल्यो भन्दा पनि  ग्लोबलाईजेसनको कारणले हाम्रो दैनिकीमा ल्याएको परिवर्तनका साथ साथै सामाजिक तथा सास्कृतिक  परिवर्तनको सुचक पनि हो 'मित्रता दिवस'

 

समाजसास्त्रको विद्यार्थी भएको नाताले विश्वव्यापीकरणको कारणले आफ्नो जन्मदिन थाह नहुनेले पनि वर्थ डे मनाइरहेको हाम्रो समाजको विश्लेशण गरेर लेख लेख्न थालेको भए पक्कै पाठकलाई पठनीयको साथसाथै केही तथ्यहरु अवगत हुन्थ्यो तर म आज यही फ्रेण्डसिप डेलाई  मित्रता दिवस को वाहनामा  आफ्नो चिसापानीमा रहदाका मित्रहरुलाई सम्झिन चाहे ।

बुद्धिसागरको फिरफिरेका पात्रहरुको मित्रता मैले अहिलेसम्म थाह भएका पुस्तकहरु मध्य सजिव ढङ्गले प्रस्तुत भएका  नितान्त स्वार्थरहित पात्रहरु हुन् । तिनैको प्रेरणाले मैले पनि मेरा जीवनका केही साथीहरुको बारेमा किन नलेँखू ? भलै फिरफिरेका "वन्ते र पवन "जस्ता कोही नहोउन् ।

मैले जान्ने भएपछि फरक फरक उमेर अवस्था र समयमा फरक फरक व्याक्तिसंग मित्रता भयो ।  लगभग वनको छेउ अनि एकान्तमा घर रहेको ले पनि स्कुल जान थालेदेखी बल्ल मैले मेरा उमेरका मानिस साथी फेला पारे । त्यो भन्दा अगाडी त मेरो  गाइका वाच्छावाच्छी नै साथी रहे । हुन त थाह पाउने उमेर पनि स्कुल जान थालेदेखी नै हो । तर स्कुल जाने आउने बाटोमा साथी एउटा कक्षामा  अर्कै साथी रहे । खासगरी ३ कक्षामा पढ्दा भगवान श्री कृष्ण र सुदामाको मित्रताको कथा पढेपछि लाग्न थालेको थियो कोही मेरो धनी साथी होस् जसले म गरिब नै भए पनि साथीको भावनाको ख्याल राखोस् ।

स्याङ्गजा जिल्लाको चिसापानी गाविस ७ नं वडामा म चार वर्षको हुदा भर्खर स्कुल खुलेको थियो । हामी पहिलो व्याच नै थियौ । सानो उमेरका केटाकेटी शिशु कक्षामा अनि अलि ठुलो उमेरका १ कक्षामा राखेर पढाइन्थ्यो  । सबै भन्दा कुनो भएकाले मेरो टोलको नाम ठुलो कुना थियो । ०५६ सालमा तनहू नआउदासम्म मेरो परिचय "ठुलोकुनाको गणेश" नै रह्यो ।

बाहुनको१६ र गुरुङ्गको ३  गरी १९ घर रहेको हाम्रो गाउँको नाम बाहुन गाउँ थियो भने ठुलोकुनामा ३ घर थियौं । शिशुदेखी ३ सम्म मेरो मिल्ने साथी रह्यो लिल बहादुर गुरुङ्ग 'लिले' केटा होस् या केटी ३ कक्षा सम्म पढ्ने बेलामा कक्षामा नितान्त जातिय रुपमा एक्लो रहे । अरुबेला जति नै मिले पनि मलाइ जब जातको नाममा म माथी  विभेद हुन थाल्थ्यो  उ तटस्थ बस्थ्यो । तर अरु हरेक कुरामा हामी एक अर्कालाइ सहयोग गर्यो पढाइमा पनि उ र मेरै पहिलो नम्बरका लागि प्रतिस्पर्धा हुन्थ्यो भने अरुबाट  उ हेडसरको भाइ भएकाले र म बाहुन भएकाले जान्ने भएको ठहरिन्थ्यौ । तर गज्जबको कुरा स्कुल छुट्टी भएपछि हामी जहाँ भेटे पनि बोल्थेनौ । जसको शिलशिला ४ कक्षामा म अर्कै उ अर्कै स्कुलमा पढ्न थालेपछि तोडियो ।

बाहुन गाउँमा मेरो उमेरका हामी ४ जना केटा थियौ  राजु ,रामे ,किस्ने  र गणेश । हुन त अर्का पनि थिए ठाकुर तर उनी गाउँका साच्चै ठाकुर थिए । दुलेगौंडामा बोर्डिङमा पढ्ने होस्टेल बस्ने भएकाले केटाकेटी बेलामा गाउँको स्वाद पाएनन् ।  सायद राजुको पछाडीको अक्षरमा उकार नभएको भए र मेरो नाम ३ अक्षरले बनेको नभए रामे र किस्ने जस्तै हाम्रो पनि नाममा एकार झुण्डिन्थ्यो ।

चार कक्षामा राजुसंग बाहेक कसैसंग संगै पढिन मैले त्यही भएर सधै उनिहरु मेरो स्कुल जाने आउने बेलामा मात्रै साथी भइरहे आठ कक्षासम्म । अब स्कुल विदा हुदा गाईगोरु चराउन जालेबेलाका साथी रहे कोही ।

छिमेकी भाई निरज बाहेक काका, काला र मिने अर्कै गाउँका थिए । बर्षेनी  बर्षे विदामा गाई चराउने बेलाका साथी भए । भिरबाट लडेर मरेको गोरु खान आएका गिद्द लखेट्न होस् या गोरु जुदाउन  आहालमा पौडी खेल्न होस् या अरु भुत लाग्छ भनेर डराउने चिहानका लास उप्काउन साथी बनिरह्यौ । खासमा ४ र ५ कक्षामा पढ्दा मेरो मित्रता खासै कसैसंग पनि स्मरणिय रहेन जति ६ ७ र ८ पढ्दा मिल्थ्यौ त्यतिबेला घने र म पनि मिलेनौ । ममा एउटा दम्भ रह्यो फस्ट हुनुको  ५ कक्षा सम्म पुग्दा मेरो कक्षामा अन्य साथीको पढाईमा प्रतिस्पर्धा दोस्रोको लागि मात्रै हुन्थ्यो ।  

लैङ्गिक विभेद हो या हाम्रो त्यो वेलाको चेतनास्तर केटा र केटी विच खासै कुराकानी पनि हुदैनथ्यो स्कुलमा । घरतिर भने त्यस्तो केही हुदैनथ्यो  ।स्कुलमा केटी साथी कोही भएनन् अझै त्यति बोलेको पनि सम्झना छैन ८ पढ्नेबेला सम्म । तर ४ कक्षा देखी ८ सम्म  पढ्दा  "अनिता र अमृता" को यस्तो मित्रता देखे !  मैले वास्तविक जीन्दगीमा त्यो पनि केटी मान्छे यत्तिको मिलेको कोही पनि देखिन । सरमिसले एउटलाई गालि गरे अर्को रोइदिने एउटा बिरामी भए दुवै स्कुल नआउने  गर्थे । उनीहरुसंग त्यो बेला कुराकानी नभएको  र पछि मित्रताको बारेमा सोध्ने गरि भेट भएन ।

 मैले ६ ७ र ८ चिसापानीको तत्कालिन एकमात्रै माध्यामिक स्कुल  महिमा मा वि मा पढे । मष्तिस्कको आयातन यो बेला धेरै नै फराकिलो भयो । को साथी को स्वार्थी छुट्टयाउन सकिने भए ।  वित्थामा सरको झापड खुवाउनेसंग  कहिल्यही बोलिएन । मनमा पाप नरनख्नेसंग छिनको छिनमै मुक्कामुक्की गरेर उतिखेरै  कपडामा बेरेर फोरेको मिठाई बाडेर खाइयो । त्यो स्कुलमा पढेको अन्तिम बर्ष भएर हो वा  टिन एज शुरु भएकोले हो मलाइ ६ र ७ भन्दा ८ कक्षा बढी स्मरणिय र महत्वपुर्ण लाग्यो  । घने, लिले र म चुइकुनाबाट चिसापानी पढ्न जाने लगातार ६ ७ र ८ सङ्गै रह्यौ । कहिले म र लिले मिलेर घनेसंग दुश्मनी गर्यौ कहिले एक्लाएक्लै घनेले हामीलाई पिट्यो किनभने उमेर र शरिर दुवैमा हामी भन्दा ठुलो थियो  । कहिले उनिहरु दुई सोल्टी मिलेर मलाई एक्लै पारे । कहिले उनिहरु नै झगडा गरे । तर म र लिले कहिल्यै झगडा गरेनौ  समग्रमा हामी तिनैजना  एक अर्कासंग छुटेनौ । त्यस्तै कक्षामा उनीहरुसंग भए जस्तै अन्य साथीहरु संग मेरो सम्बन्ध त रह्यो तर लामो र नियमित जस्तो रहेन दिपक सिग्देल,चन्द्रकान्त, ऋषि र ढालबहादुर पनि मेरो कक्षाका मिल्ने साथी रहे तर घन बहादुर र लिलबहादुर गुरुङ्ग जसरी रहेन ।

स्कुल जादा आउदा मात्रै हैन अलि उमेर भएपछि साथीहरु मल बोक्ने, पर्म लगाउने काममा पनि रामे राजु किस्ने र म सधै मिलिरह्यौं । भलै लामो समय नबोलेका राजु र रामे बिच दोभासे वा मिडिल म्यान भएर पनि । अहिले धेरै साथीहरुसंग भेटघाट छैन कसैसंग फेसबुकमा  सम्पर्क भइरहन्छ । समय र ठाउँ फेरिदै जादा साथीहरु पनि फेरिदै गए । उनिहरुपंति मेरो अपेक्षा पनि फेरिदै गयो तर मुख्य कुरा एकाध बाहेक सबै साथीहरु आफ्नै उमेरकै रहे ।

स्मृतिपलटमा ति साथीहरु नाचीरहे जो चिसापानी छाडेर म यता आएपनि । वाल्यकालको मित्रता निश्चल र पवित्र हुन्थ्यो । तर त्यो मित्रताको आधार घर परिवार संग अवश्य जोडिन्थ्यो । हामी तनहुँको राइपुरबाट सो गाउँमा गएका थियौं । हाम्रो पहिचान ठुलो कुने मात्रै नभएर राइपुरे भन्ने पनि थियो । अरुबेला शारिरिक रुपमा कमजोर र निर्धो अनि वुवाको अपाङ्गतालाइ लिएर खिल्ली उडाउनेहरु परिक्षाको समयमा साख्खै बन्न आउनेलाइ साथीको लिस्टमै राखिन । वाल मस्तिष्कमा कतिपय कुरा गढेर बसेका हुन्छन् जसले मानिसलाई दृढ प्रतिज्ञा लिने गराउछ सोही कारण मैले १४ बर्षमा छाडेको सो गाउँ फेरी फर्केर गइन । अलि अलि कमाउने भएपछि सम्पुर्ण परिवार तनहूँ नै सर्यौ तर नगरिक भने म चिसापानी कै रहिरहे ।

लालिम आएपछि, ९ देखी मास्टर्स डिग्री पढ्ने बेलासम्मका र जागिरको क्रममा म्याग्दी देखी काठमाडौं सम्मका साथीहरुसंग भने सम्पर्क भइरहन्छ कतिपयको नाम त कथाका पात्र पनि बनाइसकेको छु  भने सबै साथीसंगको सम्बन्धको बारेमा अर्को पटक ''Happy Friendship Day'' ………………………………………………………………

 

Comments

Popular posts from this blog

जागिरको सोह्र वर्ष, शहिद लखनको हप्ता

ऐंठे सिक्री !!

धौलागिरि